६ साउन,काठमाडौं । भोलि (बुधबार) बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
सङ्घीय संसद् सचिवालयले प्रकाशित गरेको बैठकको सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम हुने उल्लेख छ। कार्यसूचीको दोस्रो बुँदामा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम माननीय सदस्यहरूले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुने।“
प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ। सांसदहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने अवसर पाउनेछन्।















