७ साउन, वीरगञ्ज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराले जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साका प्रहरी निरीक्षक लोकराज भट्टलाई “पुलिस अफ द मन्थ” घोषित गरेको छ । असार महिनाको लागि घोषित यस सम्मानले निरीक्षक भट्टको नेतृत्वमा रहेको पर्सा ट्राफिक टोलीको समर्पण, इमानदारी र उत्कृष्ट कार्यक्षमताको उच्च मूल्याङ्कन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साको समग्र टिमले विभागीय मूल्य मान्यता तथा आदेश निर्देशनको पूर्ण पालना गर्दै कर्तव्यनिष्ठ, अनुशासित र लगनशीलताका साथ ट्राफिक व्यवस्थापनमा उल्लेखनीय योगदान पु¥याउँदै आएको छ ।
हालै सम्पन्न आर्थिक वर्षको समापन सन्दर्भमा गरिएको मूल्याङ्कन अनुसार, मधेश प्रदेश अन्तर्गतका आठवटै जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूमध्ये वीरगञ्ज पर्सा कार्यालयले सबैभन्दा उच्च राजस्व संकलन गर्ने उपलब्धि हासिल गरेको छ ।
त्यसैगरी, ट्राफिक जनचेतनामूलक कार्यक्रमको प्रभावकारी संचालन, ट्राफिक नियमको पालनामा जनसहभागिता अभिवृद्धि तथा कार्यसम्पादन सम्झौताअन्तर्गतको लक्ष्य प्राप्तिमा समेत वीरगञ्ज ट्राफिक टोलीले उल्लेखनीय प्रगति हासिल गरेको छ ।
प्रहरी निरीक्षक भट्टले यो सम्मान आफ्ना सम्पूर्ण टिमको समर्पण, समुदायसँगको सहकार्य तथा विभागीय निर्देशनको प्रभावकारी कार्यान्वयनको परिणामका रूपमा लिएको बताएका छन् ।















