Logo

७ साउन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गर्दै उनको पार्टी सदस्यता नवीकरण नगर्ने निष्कर्ष निकालेको छ । मंगलबार राति सम्पन्न बैठकले पूर्वराष्ट्रपतिले पुनः पार्टीको सक्रिय राजनीतिमा फर्किनु संविधानको भावना र स्थापित मान्यताको विपरीत हुने ठहर गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, बैठकले “राष्ट्रपति राष्ट्रको एकताको प्रतीक हुने भएकाले तिनले दलको कार्यकर्ता बन्नु उपयुक्त नहुने” निष्कर्ष निकालेको छ।

यस निर्णयसँगै पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिक भूमिकाको सम्भावना एमाले पार्टीभित्र अन्त्य भएको छ । अब उनको अघि एमालेको निर्णय स्वीकार गर्ने वा केही हदसम्म असहमति जनाउने दुई विकल्प मात्रै बाँकी रहेका छन् ।

यद्यपि, उक्त निर्णयमा सबैजना सहमत थिएनन् । गौतमका अनुसार, पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले सो निर्णयप्रति असहमति जनाएका थिए। यसले पार्टीभित्र पूर्वराष्ट्रपतिसँगको सम्बन्ध र दृष्टिकोणमा विविध मत रहेको संकेत गरेको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार, पूर्वराष्ट्रपति जस्तो पदमा रहेकी व्यक्तिले पुनः दलगत भूमिकामा फर्किनुले संवैधानिक मर्यादा र लोकतान्त्रिक अभ्यासमा गलत नजिर बस्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको थियो । त्यसैले, एमाले नेतृत्वले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गर्दै उनलाई औपचारिक रुपमा सक्रिय राजनीतिबाट अलग राख्ने नीतिगत अडान लिएको हो ।

साथै, बैठकले केन्द्रीय कमिटी सदस्य संख्या २५१ र पदाधिकारी संख्या १५ कायम गर्ने निर्णय पनि गरेको छ । यो निर्णयले पार्टी संरचनामा स्पष्टता ल्याउनुका साथै आगामी महाधिवेशन तथा संगठन विस्तारका तयारीलाई गति दिने विश्वास गरिएको छ ।


सम्बन्धित समाचार