Logo

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र जापानबीच एक महत्त्वपूर्ण व्यापार सम्झौता भएको घोषणा गरेका छन् ।

उनले यसलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ सम्झौता भएको बताएका छन् । जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक हो । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रस्तावित सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्नेछ।’ उनले जापानले आफ्नो अर्थतन्त्रलाई अमेरिकी सामानहरूका लागि खुला गर्ने पनि बताएका छन्।

यसमा कार, ट्रक, चामल र केही कृषि उत्पादनहरू समावेश छन् । मङ्गलबार ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पले भने, ‘मैले भर्खरै इतिहासको सबैभन्दा ठूलो व्यापार सम्झौतामा हस्ताक्षर गरेँ। यो सम्भवतः जापानसँगको सबैभन्दा ठूलो सम्झौता हो।’ ट्रम्पले अगस्ट १ अघि जापानसँग सम्झौता नभएमा २५ प्रतिशत भन्सार कर लगाउने चेतावनी दिएका थिए।

बजारमा सकारात्मक प्रभाव र सम्झौताका विवरण

ट्रम्पको घोषणापछि जापानको निक्केई २२५ सूचकांक प्रारम्भिक कारोबारमा २.५ प्रतिशतभन्दा बढीले बढेको छ। टोयोटा, निसान र होन्डा जस्ता प्रमुख कार कम्पनीहरूको सेयरमा पनि वृद्धि देखिएको छ । जापानी सञ्चार माध्यम एनएचकेले रिपोर्ट गरेअनुसार यो सम्झौताले अमेरिकामा रहेका जापानी कार निर्माताहरूमाथिको हालको कर घटाउनेछ। जापानी प्रधानमन्त्री शिगेरु इशिबाले यसको पुष्टि गर्दै अब जापानी कार कम्पनीहरूले अमेरिकामा निर्यातमा १५ प्रतिशत भन्सार शुल्क तिर्नुपर्ने बताएका छन्, जुन पहिले २५ प्रतिशत थियो।


सम्बन्धित समाचार
भर्खरै