७ साउन,वीरगञ्ज । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ स्थित टेकान टोलमा एक पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ।
बुधबार बिहान करिब साढे ६ बजे स्थानीय बासिन्दाले अन्दाजी ४० वर्ष जतिको देखिने पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार मृतकको नाम, थर र वतन हालसम्म खुल्न सकेको छैन। “शव भेटिएको स्थानबाट कुनै पनि पहिचान खुल्ने कागजात फेला परेका छैनन्,“ रायले जानकारी दिए।
प्रहरीका अनुसार शवको अवस्था हेर्दा मृतकको केही दिनअघि मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। शव परीक्षण (पोस्टमार्टम) तथा पहिचान खुलाउने प्रक्रिया अघि बढाइएको छ।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। साथै, प्रहरीले स्थानीय बासिन्दा वा मृतकलाई चिनेको हुनसक्ने आफन्तजनलाई चाँडो सम्पर्क गर्न आग्रहसमेत गरेको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।















