Logo

काठमाडौं । रसुवा नाकास्थित मितेरी पुल बगाएको बाढीका कारण चीनको केरुङमा अलपत्र परेका २०३ जना नेपाली नागरिकलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याउने तयारी गरिएको छ।

चीन सरकारको सहयोगमा उनीहरूलाई निःशुल्क नेपाल फर्काउन लागिएको हो । बाढीपछि केरुङमा सुरक्षित राखिएका रोजगारीमा गएका व्यक्तिहरू र कन्टेनर चालकहरूलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा आज केरुङबाट तातोपानी नाकातर्फ ल्याएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । गत साउन २४ गते भोटेकोशीमा आएको बाढीले रसुवाको मितेरी पुल बगाउँदा तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकहरूलाई चीनले उद्धार गरी केरुङ लगेको थियो। उनीहरूलाई त्यहाँ खानेबस्ने लगायतका सुविधा दिइएको थियो ।

नेपाल सरकारको पहल र समन्वय

गृहमन्त्री रमेश लेखकले केरुङमा अड्किएका नेपालीहरूलाई स्वदेश फर्काउन तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई समन्वय गर्न निर्देशन दिनुभएको थियो । सोही निर्देशनअनुसार, ल्हासास्थित वाणिज्यदूत लक्ष्मी निरौलाले चिनियाँ अधिकारीहरूसँग निरन्तर समन्वय गरेपछि उनीहरूलाई तातोपानी नाकासम्म ल्याउने सहमति भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापका अनुसार तिब्बतको न्यालामस्थित विदेश विभागका प्रतिनिधिले नेपालीहरूको टोलीको नेतृत्व गर्दै तातोपानी ल्याउँदै छन्। तातोपानी नाकामा सिन्धुपाल्चोकका प्रजिअ थापासहित स्थानीय प्रशासनको टोलीले उनीहरूलाई जिम्मा लिने कार्यक्रम रहेको छ।


सम्बन्धित समाचार
भर्खरै