७ असार, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले अब तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा प्रवेश परीक्षा सञ्चालन नगर्ने निर्णय गरेको छ ।
यो वर्षदेखि अब विद्यार्थीको छनोट एसईईको ग्रेडिङ (जीपीए) का आधारमा गरिने भएको हो । जसले गर्दा इच्छुक विद्यार्थीहरूले काठमाडौँ धाउनुपर्ने बाध्यता हट्नेछ । एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मान्दै जीपीएलाई नै भर्नाको आधार बनाउने निर्णय गरिएको सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो । विगतमा प्रत्येक वर्ष प्रवेश परीक्षाबाट मात्रै भर्ना लिइने गरिन्थ्यो ।
न्यूनतम २ दशमलव ० जीपीए वा पुरानो एसएलसी प्रणाली अनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् । यसअघि अंग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर एसईईको नतिजालाई आधार मानिन्थ्यो ।















