७ साउन, काठमाडौं । रूकुमपूर्वको भूमे गाउँपालिका–५ सेराबाङमा जंगली च्याउको तरकारी खाँदा ३ वर्षीय योजन विक र ७ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको छ।
उनीहरू दिदीभाइ हुन् । विषालु च्याउका कारण उनीहरूकी आमा राजकुमारी विक र ९ वर्षीया बहिनी आयुषा विक पनि गम्भीर बिरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय रूकुमपूर्वका डीएसपी उमाशंकर यादवका अनुसार, गत साउन २ गते राति खानामा च्याउको तरकारी खाएपछि उनीहरू बिरामी परेका थिए। तर, उपचारका लागि साउन ५ गते मात्रै अस्पताल लगिएकोले उपचारमा भएको ढिलाइका कारण दुई बालबालिकाको ज्यान गएको हो । गम्भीर बिरामी परेका योजनको सल्यान जिल्ला अस्पतालमा र भाग्यरेखाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले राजकुमारी विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा र आयुषा विकको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, रूकुम पश्चिम घर भएकी राजकुमारी विक श्रीमान् गोविन्दसँग मनमुटाव भएपछि करिब एक वर्षदेखि छोराछोरीसहित माइतीमा बस्दै आएकी थिइन् ।















