७ साउन, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले अवरोध सिर्जना गरेका छन् ।
यी दुई दलले संसदमा अवरोध सुरु गरेको आज ५८ दिन पुगेको छ । बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरू आ(आफ्नो स्थानबाट उठेका थिए। सभामुखले समय दिएपछि रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाको आवरणमा भइरहेको मानव बेचबिखन र तस्करहरूको ‘सेटिङ’ नरोकिएको भन्दै सरकार गम्भीर नभएको आरोप लगाइन् । उनले ७८ लाख घुस डिलको आरोप लागेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर ३२ लाख घुस डिलको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी अझै संसदमा रहेको भन्दै प्रश्न उठाइन् ।
राप्रपाको भ्रष्टाचारविरुद्ध चेतावनी
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा जताततै भ्रष्टाचार व्याप्त रहेको बताए। भ्रष्टाचार अन्त्यका लागि छानबिनको दायरामा राजनीतिक नेतृत्वलाई ल्याउनुपर्ने उनको माग थियो। उनले नेपालबाट कोरिया जाने कामदारहरूलाई एउटै प्लेनबाट पठाउने भन्दै कमिसन खानेहरू समेत सक्रिय रहेको उल्लेख गरे ।
लिङ्देनले संसदमा आफूहरूले गरिरहेको विरोधलाई सरकारले नसुनेको भन्दै आक्रोश व्यक्त गरे। उनले भ्रष्टाचारसँग सम्बन्धित विषयमा सरकार छानबिन गर्न तयार नभए सडकबाट सशक्त दबाब दिने चेतावनी पनि दिए। आफ्ना कुरा राखिसकेपछि रास्वपा र राप्रपाका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन्।















