Logo

७ साउन,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणलगायतका विषयमा सरकार गम्भीर नभएको आरोप लगाउँदै तीव्र आलोचना गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले आफूहरूले दुई महिनाअघि नै भिजिट भिसा प्रकरणबारे आवाज उठाउँदा पनि सरकारले नसुनेको गुनासो गरे। उनले भने, “कांग्रेस र एमालेजस्तो दुई ठूला पार्टी मिलेर बनाइएको सरकार देश चलाउन होइन, लुट्न टेन्डर दिइएझैं व्यवहार गर्दैछ।”

उनको आरोप छ कि अहिले मन्त्रीहरूबीच ‘कसले छिटो र धेरै कमाउने’ भन्ने प्रतिस्पर्धा चलिरहेको छ। “सरकारका एक दर्जनभन्दा बढी मन्त्रीहरू विवादमा मुछिएका छन्, तर अहिलेसम्म कुनै प्रभावकारी छानबिन भएको छैन,” लिङ्देनले भने।

भ्रष्टाचारमाथि कटाक्ष
लिङ्देनले वर्तमान सरकारमा भ्रष्टाचार सर्वत्र व्याप्त रहेको दाबी गर्दै अब प्रश्न उठाउने बेला ‘भ्रष्टाचार कहाँ छ ?’ होइन, ‘कहाँ छैन ?’ भन्ने भएको बताए।

उनले थपे, “भिजिट भिसा मात्र होइन, बजार मूल्य बढाएर कमिसन खाइरहेको, ठेक्कापट्टामा अनियमितता भइरहेको, मन्त्रिपरिषद्का निर्णयहरूमा दलाली हावी भएकोजस्ता दर्जनौँ विषयहरू आएका छन्।”

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग
लिङ्देनले यी सबै विषयमा निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्। “जबसम्म यस्तो आयोग गठन हुँदैन, राप्रपाको विरोध जारी रहनेछ,” उनले चेतावनी दिए।

सदनमा संख्या देखाएर जनताको आवाज दबाउने प्रवृत्तिको विरोध
अध्यक्ष लिङ्देनले सदनमा संख्या बलको आधारमा जनताको आवाज दबाउने प्रवृत्ति बढेको भन्दै सरकारलाई सचेत गराए। “यदि सदनमा पेल्न खोजियो भने हामी सडकमा उत्रेर प्रतिरोध गर्छौँ,” उनले भने।

उनको भनाइमा, सरकारले जनताको आवाज सुन्नु र प्रश्नहरूको जवाफ दिनु आवश्यक छ, नत्र संसद् जति बलियो भए पनि जनमतको दबाब चिर्न नसक्ने स्थिति आउन सक्छ।


सम्बन्धित समाचार