Logo

७ साउन,काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट नेतृत्वमा सरकार चलिरहेको भए पनि देशमा देखिने खालको परिणाम नआएको भन्दै चिन्ता व्यक्त गरे।

“सरकार चलाइरहेका नेताहरू आफैं कम्युनिष्ट पार्टीका हुन्, तर जनतामा निराशा छाएको छ,“ अध्यक्ष नेपालले भने, “सरकारले जनताले अनुभूति गर्ने गरी काम गर्न सकेको छैन।“

सामाजिक विकृति र आर्थिक बहसको खाँचो
कार्यक्रममा बोल्दै नेपालले सामाजिक विकृतिहरू जस्तै छाउपडी प्रथा अझै पनि देशका विभिन्न ठाउँमा कायम रहेको बताउँदै यसको अन्त्यका लागि कम्युनिष्ट दलहरूले जिम्मेवारी लिनुपर्नेमा जोड दिए।

“एक जना महिला छाउपडीका कारण ज्यान गुमाउनु हाम्रो समाजको लाज हो। कम्युनिष्ट पार्टीहरू त्यहाँ छन्, तर यो प्रथा हटाउन चाहँदैनन्। यस्तो अवस्थामा परिवर्तन कसरी सम्भव छ?“ उनले आक्रोश पोखे।

उनले देशको आर्थिक नीतिबारे पनि गहिरो बहसको आवश्यकता रहेको बताए। अध्यक्ष नेपालका अनुसार, अहिलेको आर्थिक नीति कता जान खोजेको छ भन्ने स्पष्ट दिशा नदेखिएको हो।

“हामी कस्तो प्रकारको अर्थतन्त्र अवलम्बन गर्ने भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ,“ उनले स्पष्ट पारे, “अर्थतन्त्र, सामाजिक संरचना र न्यायको पक्षमा हामी जागरुक बनिनुपर्छ।“

समाज परिवर्तनका लागि अभियानको आवश्यकता
छुवाछुत, लैंगिक विभेद र सामाजिक कुरीतिहरू अन्त्य गर्न समाजमै चेतना फैलाउनुपर्ने आवश्यकता रहेको उनले बताए। “यस्ता प्रथाहरू विरुद्ध व्यापक सामाजिक अभियान आवश्यक छ,“ उनले जोड दिए।


सम्बन्धित समाचार