७ साउन,वीरगञ्ज । रौतहट जिल्लामा सिँचाइका लागि विद्युतीय मोटर प्रयोग गर्ने क्रममा दुई किसानले ज्यान गुमाएका छन्। छुट्टाछुट्टै स्थानमा भएको यो घटनाले किसानहरूको सुरक्षा र सावधानीतर्फ गम्भीर प्रश्न खडा गरेको छ।
पहिलो घटना कटहरिया नगरपालिका–२, जमुनियामा घटेको हो, जहाँ ४२ वर्षीय मोक्तार देवान आफ्नो खेतमा मोटर चलाएर पानी हाल्ने क्रममा करेन्ट लागेर घाइते भए। तत्कालै उपचारका लागि गरुडास्थित ग्रान्डी अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरे।
त्यसैगरी अर्को घटना माधवनारायण नगरपालिका वडा नम्बर ४, बिसुनपूर्वा मानपुरमा आज बिहान भएको हो। ४० वर्षीय रामबाबु मुखिया सिँचाइका क्रममा करेन्ट लागेपछि तत्कालै प्रादेशिक अस्पताल, गौर पु¥याइए, तर उनको पनि ज्यान जोगाउन सकिएन।
इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी राजन कार्कीले दुवै घटनाको पुष्टि गर्दै आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन्। हाल मृतक दुवैजनाको शव प्रादेशिक अस्पताल, गौरमा राखिएको छ।
सावधानीको खाँचो
पछिल्लो समय रौतहट क्षेत्रमा सिँचाइका क्रममा करेन्ट लागेर ज्यान गुमाउने घटना दोहोरिन थालेको छ। यस्तो अवस्थाले विद्युतीय उपकरण प्रयोग गर्दा सावधानी अपनाउनु अति आवश्यक रहेको संकेत गर्दछ।
विशेषगरी गाउँ–घरमा सुरक्षाको मापदण्ड नअपनाई मोटर जडान गर्ने, नाङ्गो तार प्रयोग गर्ने, तथा पानी र विद्युत् सँगै प्रयोग हुने जोखिमपूर्ण अवस्थाले यस्ता दुःखद परिणाम निम्त्याउने गरेको जनाइएको छ।















