७ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाभित्रका सबै विद्यालयहरूमा साउन १३ गतेदेखि वर्षे विदा लागू हुने भएको छ। महानगरपालिकाले मंगलबार सूचना जारी गर्दै साउन १३ देखि २० गतेसम्म विद्यालयहरू बन्द रहने जनाएको हो।
यसअघि नगरको शैक्षिक क्यालेन्डरअनुसार साउन १३ देखि भदौ ६ गतेसम्म वर्षे विदा तय गरिएको थियो। तर यस वर्ष गर्मी विदा अगावै दिइसकिएकाले त्यसलाई समायोजन गर्दै नयाँ मितिमा संशोधन गरिएको हो।
महानगरले जारी गरेको सूचनामा भनिएको छ, “गर्मी विदा पहिले नै दिइएकाले वर्षे विदामा कटौती गरी साउन १३ देखि २० गतेसम्म विदा दिइने निर्णय गरिएको छ।“
उक्त निर्णय वीरगञ्ज महानगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट गरिएको हो। अब विद्यालयहरू साउन २१ गतेदेखि पुनः सञ्चालनमा आउनेछन्।















