Logo

८ साउन, सप्तरी । सप्तरीको राजगढ गाउँपालिकामा दुई जना व्यक्तिको शव शङ्कास्पद अवस्थामा फेला परेको छ भने फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राजगढ गाउँपालिका–५ मलेकपुरस्थित कामत टोलमा बुधबार बिहान स्थानीयवासी गुलाब सिंहको धानखेतमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । शव झण्डै ४५ वर्षीय पुरुषको रहेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र कुमार बस्नेतका अनुसार मृतकको पहिचान अझै खुलेको छैन ।

प्रवक्ता बस्नेतले मृतकले मुस्लिम समुदायमा प्रचलित लुगा लगाएको बताए । शव भेटिएपछि स्थानीयले प्रहरी चौकी पत्थरगढामा खबर गरेका थिए । शव पोष्टमार्टमका लागि पठाइएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यता, राजगढ गाउँपालिका–३ मा मङ्गलबार २१ वर्षीय युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृतक विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका जितेन्द्र यादव रहेको प्रहरीले पुष्टि गरेको छ। यादवको शव ससुरालीमै झुन्डिएको अवस्थामा भेटिएको हो ।

घटना शङ्कास्पद रहेकाले मृतकको शव परीक्षणका लागि धरान पठाइएको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।

यसैबीच, सप्तरी प्रहरीले फरार रहेका दुई जना प्रतिवादीलाई पनि नियन्त्रणमा लिएको छ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खडक नगरपालिका–९ का मो. अख्तर (मो. अकतर) र डाँका चोरी मुद्दाका प्रतिवादी छिन्नमस्ता गाउँपालिका–३ का सनोज कुमार यादवलाई बुधबार पक्राउ गरिएको हो ।

सप्तरी जिल्ला अदालतबाट मो. अकतरलाई एक वर्ष कैद सजाय तथा सनोज कुमार यादवलाई एक वर्ष एक महिना कैद र एक हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। अदालतको फैसला पश्चात् उनीहरू फरार रहेका थिए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत राजविराजमा बुधबार नै पेश गरिएको प्रहरीले जानकारी दिएको छ।


सम्बन्धित समाचार