Logo

८ साउन, काठमाडौं । नेपाल प्रहरीले अबदेखि कुनै पनि घटना वा अपराधमा पक्राउ परेका व्यक्तिहरूको तस्बिर तथा भिडिओ सार्वजनिक नगर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी युनिटहरूलाई परिपत्र जारी गर्दै पत्रकार सम्मेलन वा अन्य कुनै सूचनामा पनि पक्राउ परेकाको तस्बिर वा भिडिओ नपठाउन स्पष्ट निर्देशन दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार यो निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट प्राप्त निर्देशनको आधारमा गरिएको हो ।

महान्यायाधिवक्ताको कार्यालयले असार महिनामै पक्राउ परेकाहरूको गोपनीयता र मानवीय अधिकारलाई ध्यानमा राख्दै तस्बिर र भिडिओ सार्वजनिक नगर्न निर्देशन दिएको थियो । त्यसको जानकारी प्रहरी प्रधान कार्यालयमा आएलगत्तै कार्यान्वयनमा ल्याइएको हो ।

जघन्य अपराधका घटनामा विशेष परिस्थिति सिर्जना भएमा सम्बन्धित निकायको अनुमति लिएर मात्र तस्बिर वा भिडियो सार्वजनिक गर्न सकिने व्यवस्था गरिएको छ ।

यो कदमले कानुनी प्रक्रिया पूरा नहुँदै व्यक्तिको सामाजिक पहिचान र प्रतिष्ठामा पर्ने असर न्यूनीकरण गर्ने विश्वास गरिएको छ । साथै, मानव अधिकारको सम्मान र निष्पक्ष अनुसन्धानका लागि प्रहरीको यो निर्णय एक सकारात्मक पहलका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार