Logo

८ साउन,इस्तानबुल । रुस र युक्रेनबीच टर्कीको इस्तानबुलमा बुधबार भएको छोटो वार्तामा बन्दी आदानप्रदान गर्न सहमति भएको छ। करिब आधा घण्टा चलेको यो वार्ताले मानवीय पक्षमा सकारात्मक नतिजा दिए पनि पूर्ण युद्धविरामको विषयमा भने दुई देशबीचको मतभेद कायमै रहेको छ।

वार्तामा दुवै पक्ष २५० बन्दीहरूलाई रिहा गर्न सहमत भएका छन्। यसका साथै, निकट भविष्यमा थप १२०० बन्दीहरूलाई रिहा गर्ने विषयमा पनि सहमति जुटेको छ। यसअघि मे र जुन महिनामा भएका वार्ताहरूमा पनि बन्दी रिहाइका विषयमा सहमति भएको थियो।

युद्धविराममा असहमतिः

यद्यपि, युद्धविरामको मुख्य शर्तमा भने दुई पक्षबीच सहमति हुन सकेको छैन। युक्रेनले पूर्ण युद्धविरामको प्रस्ताव गरेको छ भने रुसले अल्पकालीन युद्धविरामको प्रस्ताव अघि सारेको छ। रुसले सुरुमा २४ देखि ४८ घण्टाको युद्धविराम गरी शवहरूको खोजी गर्ने र घाइतेहरूको उद्धारमा सक्रिय हुने योजना प्रस्तुत गरेको छ।

उच्चस्तरीय वार्ताको सम्भावनाः

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई ५० दिनको ’डेडलाइन’ दिएपछि यो वार्ता अघि बढेको हो। युक्रेनको नेतृत्व गरिरहेका पूर्व रक्षा मन्त्री रुस्तम उमेरोभले अगस्टको अन्त्यमा थप वार्ताको प्रस्ताव गरेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको उपस्थितिमा वार्ता भए निष्कर्षमा पुग्न सहज हुने बताएका छन्।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एआईडी भ्लादिमिर मेडिन्स्कीले रोयटर्ससँगको अन्तर्वार्तामा युद्धविरामको नजिक पुगेपछि मात्र शीर्ष तहको वार्ताको औचित्य हुने बताएका छन्।

आक्रमण जारीः

टर्कीमा वार्ता जारी रहेकै समयमा पनि रुसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमण गर्न छाडेको छैन, जसले द्वन्द्वको जटिलतालाई थप उजागर गरेको छ। रुसी राष्ट्रपति पुटिनले भने ट्रम्पको अभिव्यक्तिको बारेमा कुनै धारणा सार्वजनिक गरेका छैनन्।


सम्बन्धित समाचार