८ साउन, काठमाडौँ । थाइल्याण्ड र कम्बोडियाबीचको सीमा क्षेत्रमा पछिल्लो समय तनाव चुलिएको छ।
दुई देशबीच लामो समयदेखि जारी सीमा विवादले अहिले थप उग्र रूप लिएको छ, जसको परिणामस्वरूप गोलीकाण्ड र हवाई आक्रमणसम्मका घटनाहरू भएका छन् । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाली अधिकारीहरूले थाईल्याण्डको सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ भने कम्तिमा तीन जना घाइते भएका छन् । यस घटनालगत्तै थाई सेनाले जवाफी कारबाहीस्वरूप कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।
यता, कम्बोडियाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिकै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकैको सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको आरोप लगाएको बेलायती अखबार द गार्डियनले उल्लेख गरेको छ। यो मन्दिर रहेको क्षेत्र थाई नागरिक मारिएको ठाउँ नजिकै पर्छ । यस घटनाले दुई देशबीचको सम्बन्धमा थप जटिलता ल्याएको छ र सीमा विवादले अझै ठूलो रूप लिन सक्ने चिन्ता बढेको छ। अन्तर्राष्ट्रिय समुदायले यस अवस्थालाई नजिकबाट नियालिरहेका छन्।















