८ साउन, काठमाडौं । नेपालको संसदीय इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एक नयाँ कीर्तिमान कायम गरेका छन् ।
उनीहरू लगातार ५९ दिनदेखि प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएका छन्। यसरी लामो समयसम्म संसद अवरुद्ध गरेको यो नेपालको संसदीय अभ्यासमा एउटा नयाँ घटना हो । बिहीबार दिउँसो १ बजेका लागि तय भएको बैठक सुरु हुनेबित्तिकै दुवै दलका सांसदहरूले उठेर विरोध जनाए । सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिएपछि उनीहरूले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन हुनुपर्ने आफ्नो मुख्य माग दोहोर्याए । उनीहरूले १३ जेठ २०८२ देखि नै यही माग राखेर संसदमा विरोध गर्दै आएका छन्, यद्यपि १५ जेठमा बजेट प्रस्तुत गर्न भने दिएका थिए ।
विरोधको फेरिएको शैली
सुरुमा वेल घेराउ र नाराबाजी गरेका रास्वपाका सांसदहरूले केही समय वेलमै पलेंटी कसेर बसेर समेत विरोध जनाएका थिए । तर, पछिल्लो समय उनीहरूले आफ्नो विरोधको शैली बदलेका छन् । अब उनीहरू बैठक सुरु भएपछि आफ्ना कुरा राख्छन् र त्यसपछि बाहिरिन्छन् । यसले उनीहरूको अवरोधका बाबजुत पनि संसदको बैठक नियमित चलिरहेको छ ।
बिहीबारको बैठकमा रास्वपाकी सांसद तोसिमा कार्कीले सरकारले दमनकारी शैलीमा राज्य चलाउन उद्धत रहेको रोप लगाइन् । उनले ललितपुरमा मन्त्री क्वार्टर बनाउने नाममा नागरिकलाई हिँड्न गाह्रो हुने गरी संरचना बनाउन लागेको, र सरकार बन्दा संविधान संशोधन तथा सुशासनको प्रतिबद्धता जनाए पनि व्यवहारमा ठिक उल्टो देखिएको टिप्पणी गरिन् । भिजिट भिसा प्रकरणमा आफूहरूको आवाज नसुनेकोमा उनले गुनासो पोखिन्। ‘दुई प्रतिपक्षी दलले निरन्तर विरोध गरेतापनि निर्वाध रूपमा यो संसद किन चलिरहेको छ? यो संसद् कसको होरु जनताको आवाज हो कि सरकारको कठपुतली हो? भन्दै उनले सरकार र संसदमाथि प्रश्न उठाएकी छन्।
राप्रपाका सांसद दीपक सिंहले पनि भिजिट भिसाको विषयमा संसदीय छानबिन समिति बन्नुपर्ने अडान दोहोर्याए। उनले संसदीय छानबिन समिति नबनेसम्म संसद्को गतिविधिमा भाग नलिने स्पष्ट पारे।
भ्रष्टाचारका मुद्दा र सडक आन्दोलनको चेतावनी
बुधबारको बैठकमा रास्वपाकी सांसद बिन्दबासिनी कंसाकारले भिजिट भिसाका नाममा नेपाली बेचिने काम भइरहेको र यो गम्भीर विषय भएको बताएकी थिइन्। उनले तस्करको सेटिङ नरोकिएको भन्दै ७८ लाख घुस डिल गरेको आरोप लागेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिएको तर, ३२ लाख घुस डिल गरेको आरोप लागेका भूमि व्यवस्थामन्त्री बलराम अधिकारी संसद्मै रहेको भनेर सरकारको ध्यानाकर्षण गराएकी थिइन्।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जताततै भ्रष्टाचार रहेको भन्दै यसको अन्त्यका लागि छानबिनमा राजनीतिक नेतृत्वलाई ल्याइनुपर्ने माग राखेका छन्। उनले नेपालबाट कोरिया जानेलाई एउटै प्लेनबाट जाने भनेर कुरा मिलाएर खानेहरू समेत रहेको दाबी गरे। आफूहरूले संसदमा गरेको विरोध सरकारले नसुनेकोमा उनको चित्त दुखाइ छ। भ्रष्टाचारसँग सम्बन्धित विषयमा समेत छानबिन गर्न सरकार तयार नभए सडकबाट दबाब दिने लिङ्देनले चेतावनी दिएका छन्।















