Logo

८ साउन,मस्को । रुसको सुदूर पूर्वी क्षेत्रमा रहेको अमुर क्षेत्रमा यात्रुवाहक विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। ‘अंगारा एयरलाइन्स’ द्वारा सञ्चालित एन्टोनोभ एन–२४ विमान चीनसँग सीमा जोडिएको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन बनेको थियो।

रुसी नागरिक उड्डयन प्राधिकरण र आपतकालीन मन्त्रालयका अनुसार, विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। यद्यपि, उद्धार मन्त्रालयले प्रारम्भिक रूपमा करिब ४० जनाको मात्र पुष्टि गरे पनि पछि घटनास्थलबाट फेला परेका भग्नावशेषबाट सबै सवार व्यक्तिको ज्यान गएको जनाइएको छ।

जलिरहेको अवस्थामा फेला पर्यो विमानको भग्नावशेष
एमआई–८ हेलिकप्टरमार्फत खोजी कार्य गरिरहेका उद्धार टोलीहरूले विमानको भग्नावशेष अमुर क्षेत्रमै जलिरहेको अवस्थामा फेला पारेका छन्। घटनास्थलमा आगो नियन्त्रणमा लिन तथा पीडितहरूको पहिचानका लागि व्यापक प्रयास जारी छ।

खराब मौसम र मानवीय त्रुटी सम्भावित कारण
टास समाचार एजेन्सीका अनुसार, दुर्घटनाको समयमा खराब मौसम र कम दृश्यता रहेको र त्यसकै बीच अवतरण गर्ने प्रयास गर्दा चालक दलबाट त्रुटी भएको सम्भावना बताइएको छ। यद्यपि, विस्तृत छानबिनपछि मात्रै ठोस निष्कर्षमा पुगिने अधिकारीहरूले बताएका छन्।

दुर्गम क्षेत्रका जोखिम र पुराना विमानको प्रयोग चिन्ताको विषय
रुसका आर्कटिक र सुदूर पूर्वी क्षेत्रहरूमा हवाई यातायात अत्यावश्यक भए पनि, पुराना मोडलका विमानहरू सञ्चालनमा रहेका कारण जोखिम उच्च रहँदै आएको छ। यसअघि पनि सन् २०२१ मा एन्टोनोभ एन–२६ विमानको दुर्घटनामा ६ जनाको मृत्यु, सोही वर्ष कामचाट्का क्षेत्रमा अर्को दुर्घटनामा २८ जनाको ज्यान गएको थियो।

सरकारले पछिल्लो समय उड्डयन सुरक्षा मापदण्डमा सुधार ल्याएको दाबी गरे पनि दुर्गम र खराब मौसमयुक्त क्षेत्रहरूमा दुर्घटनाको जोखिम यथावत् रहेको चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्।

 


सम्बन्धित समाचार