९ साउन, रौतहट । रौतहटको गुजरा नगरपालिका–१ कोठियारस्थित लमाहा खोलामा निर्माण भइरहेको पुल आठ वर्ष बितिसक्दा पनि अझै पूर्ण बन्न सकेको छैन । पाँच पटकसम्म निर्माण म्याद थपिँदा पनि पुल निर्माण कार्य अलपत्र अवस्थामा छ ।
चन्द्रपुर र गुजरा नगरपालिकालाई जोड्ने १२५ मिटर लामो प्रिस्ट्रेस आरसीसी पुलको निर्माणको जिम्मा श्री पप्पु – शिवशंकर जे.भी., गरुडा, रौतहट लाई दिइएको थियो । २०७३ साल जेठ २ गते डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरसँग सम्झौता भई २०७५ असोज १५ गतेसम्म कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि ठेकेदारको लापरवाहीले काम अझै अधुरो रहेको सूचना अधिकारी ई. शिव नारायणप्रसाद साह ले जानकारी दिएका छन् ।
हालसम्म पुलको करिब ७१ प्रतिशत कार्य मात्र सम्पन्न भएको र ५ पटकसम्म म्याद थपिएको भए पनि निर्माण कार्यले तीव्रता नपाएको उनले बताए । उनले भने, “ठेकेदार कम्पनीलाई अहिलेसम्म ५ करोड ४५ लाख ४५ हजार ८ सय २८ रुपैयाँ भुक्तानी भइसकेको छ ।”
साहका अनुसार उक्त कम्पनीले एउटै समयमा ६ वटा पुलको ठेक्का लिएको र त्यसपछिका आर्थिक वर्षमा थप ३ वटा सडक निर्माणको ठेक्का समेत साकार गरेकाले कार्यबोझका कारण काममा ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको छ । पुल निर्माणका लागि कुल ९ करोड २२ लाख ७७ हजार ५ सय ५९ रुपैयाँ लागत विनियोजन गरिएको थियो ।
स्थानीयको आक्रोश :
पुल समयमा नबन्दा स्थानीय बासिन्दाहरू लामो समयदेखि सास्ती खेपिरहेका छन् । कोठियार टोल निवासी राजकुमार कटुवाल भन्छन्, “पुल बन्छ भनेर ठेकेदारको घरमा समान राख्न दिइयो, बिजुली पनि जोडिदियौं, तर न त पुल बन्यो न त बिजुलीको पैसा आयो ।” ठेकेदार दयाराम साह तीन वर्षदेखि सम्पर्कबिहीन रहेको उनको आरोप छ ।
गुजरा–४ सिम्रा घर भएका वासुदेव चौधरी ले यात्रा कष्टकर बनेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, “चन्द्रपुर ७ बनबहुअरी जानलाई हामीले यही पुलको बाटो रोज्नुपर्छ, तर पुल नबन्दा साइकल र मोटरसाइकल बोकेर खोलो तर्नुपर्छ ।”
स्थानीय सुमन सापकोटा ले बर्खाको समयमा दर्जनौं गाउँका किसानहरूलाई लामो बाटो घुमेर खेतबारी जानुपर्ने बाध्यता रहेको बताए । उनले भने, “कोठियार र रंगपुरका किसानको खेत एक अर्काको क्षेत्रमा परेकाले सो पुल अति आवश्यक हो ।”
ठेकेदारको लापरवाहीले अन्य पुल पनि प्रभावित
डिभिजन सडक कार्यालयका अनुसार रौतहट जिल्लामा ठेकेदारको लापरवाही र राज्यको ढिलो भुक्तानी प्रणालीका कारण हाल आधा दर्जनभन्दा बढी पुल अलपत्र अवस्थामा छन् । तर, गत आर्थिक वर्षमा बरहवा खोलाको पुल, तरहरी झाझपुल, र गुजरा खोलाको पुल जस्ता तीन ठूला पुलको निर्माण सम्पन्न भएको कार्यालय प्रमुख अरुण कुमार लाल कर्ण ले जानकारी दिए ।
स्थानीयवासीले अब भने सडक डिभिजन र सरोकारवाला निकायबाट प्रभावकारी अनुगमन र ठेकेदारमाथि कडा कारबाहीको माग गरेका छन् । उनीहरूको भनाइ छ, “काम नसक्ने ठेकेदारलाई निष्क्रिय सूचीमा राखेर नयाँ योग्य कम्पनीलाई जिम्मा दिनुपर्छ, होइन भने हामी सडकमा उत्रन बाध्य हुनेछौं ।”















