Logo

९ साउन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको आयोजना तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरको सहकार्यमा आज ‘डेनवान सरसफाई अभियान’ सुरु गरिएको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सञ्चालन भएको अभियानको उद्देश्य वीरगञ्जलाई हरियाली बनाउने र भारतको रक्सौलदेखि वीरगञ्जको जिल्ला हुलाक कार्यालयसम्मको क्षेत्र सफा गर्ने हो । अभियान अन्तर्गत डुङ्गा सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ ।

आज बिहान ७ः३० बजे सुरु भएको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह प्रमुख अतिथि थिए भने ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रममा नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनैतिक दलका प्रतिनिधि, सुरक्षा निकायका पदाधिकारी, सञ्चारकर्मी, र सेवा केन्द्रका पदाधिकारी लगायत करिब २५० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य आकर्षण वीरगञ्ज शहरको हरियाली प्रवद्र्धन र सरसफाई अभियान थियो । प्रमुख अतिथि नगर प्रमुख राजेश मान सिंहले वीरगञ्जलाई स्वच्छ र सुन्दर बनाउन सबैको सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनले यस अभियानले वीरगञ्जको वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । उनीहरू मध्ये भारतका महावाणिज्य दूतावास वीरगञ्ज पर्साका डिएस मिना, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट, प्रहरी निरीक्षक लोकराज भट्ट, निरोज चौलागाईं र नगर प्रहरी निरीक्षक हरि प्रसाद भुसालको उपस्थिति विशेष थियो ।

यसका साथै वीरगञ्ज महानगरपालिकाका सरसफाई अधिकृत सर्फुदिनमियाँ, वातावरण शाखा अधिकृत प्रकाश ऐरी, र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्यहरू लगायत अन्य विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रम बिहान ८ः४५ बजे सम्पन्न भएको थियो । यस अभियानले वीरगञ्जको सरसफाई र हरियालीमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार