९ साउन,ठोरी । पर्साको ठोरी गाउँपालिका–४, निर्मलबस्तीमा करिब १ हजार घरधुरीलाई स्वच्छ खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ निर्माण भएको ’निर्मलबस्ती खानेपानी आयोजना’ को शुक्रबार उद्घाटन गरिएको छ। संघीय खानेपानी मन्त्री प्रदीप यादवले उक्त आयोजनाको उद्घाटन गरेका हुन् ।
निर्मलबस्तीमा २ लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्यांकी, डीप ट्युबवेल, कार्यालय भवन, पम्प हाउस र पानी प्रशोधन केन्द्र (ट्रीटमेन्ट प्लान्ट) जस्ता महत्वपूर्ण संरचनाहरू यस आयोजना अन्तर्गत निर्माण भएका छन्। उद्घाटनका क्रममा मन्त्री यादवले धाराबाट आएको पानी आफैँ पिएर आयोजनाको शुभारम्भ गर्नुभएको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिए ।
उद्घाटनपछि ठोरी गाउँपालिका कार्यालयले आयोजना गरेको स्वागत तथा अभिनन्दन कार्यक्रममा बोल्दै मन्त्री यादवले निर्मलबस्ती खानेपानी आयोजना सञ्चालनमा आएपछि अब स्थानीय बासिन्दाले नियमित, सुरक्षित र भरपर्दो खानेपानी सेवा पाउने विश्वास व्यक्त गरे । उनले लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीय बासिन्दाका लागि यो आयोजना एक महत्त्वपूर्ण उपलब्धि भएको बताए । यो आयोजनाबाट १ हजार घरधुरीका २ हजार १६५ जना नागरिक लाभान्वित हुने उनले उल्लेख गरे ।
मन्त्री यादवले सरकार गाउँगाउँसम्म स्वच्छ पानी पु¥याउन प्रतिबद्ध रहेको बताउँदै खानेपानीलाई विकासको आधारभूत संरचनाको रूपमा व्याख्या गरे । उनले हाल तराई–मधेसका जिल्लाहरूले गम्भीर जलसंकट को सामना गरिरहेको उल्लेख गर्दै यस्तो विषम परिस्थितिमा पनि नागरिकको मौलिक अधिकारका रूपमा स्वच्छ र सुरक्षित खानेपानी सुनिश्चित गर्न सरकार अहोरात्र खटिरहेको बताए । उनले मधेसको खानेपानी समस्या चाँडै समाधान हुनेमा आम नागरिकलाई विश्वास दिलाए ।
खानेपानी मन्त्रालयकै विशेष पहलमा नेपाल सरकारको मन्त्रिपरिषद्ले मधेस प्रदेशका ८ जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी पनि मन्त्री यादवले दिए ।
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मी, भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमद, निर्मलबस्ती खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारी, सदस्यहरू, वडाध्यक्षहरू, जसपाका नेताहरू लगायतको उपस्थिति थियो।















