९ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘संवैधानिक परिषद् काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक’ पुनर्विचारका लागि फिर्ता गरेपछि यस विषयमा चासो व्यक्त गर्न सभामुख देवराज घिमिरेले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति पौडेलले बिहीबार संविधानको मर्मविपरीत परिषद्को बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै उक्त विधेयक फिर्ता गरेका थिए । यसैको लगत्तै शुक्रबार बिहान सभामुख घिमिरेले राष्ट्रपतिलाई भेटेर यस कदमप्रति आफ्नो चासो व्यक्त गरेको स्रोतले जनाएको छ । भेटका क्रममा सभामुख घिमिरेले आफ्नो आगामी जेनेभा भ्रमणबारे पनि राष्ट्रपतिलाई जानकारी गराएका छन्। उनी जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने संसदका सभामुखहरूको विश्व सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्न जुलाई २७ मा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ।















