Logo

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आज मन्त्री फेरबदलको विषयमा कुनै छलफल नभएको पार्टीले स्पष्ट पारेको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले यो विषय बैठकको एजेन्डामा नरहेको बताए। बैठकले आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनमा केन्द्रित रहेर प्रारम्भिक छलफल गरेको छ। यस उपनिर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नाममा भने कुनै चर्चा नचलेको नेता केसीले जानकारी दिए। बालकृष्ण खाणको सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, ‘नामबारे कुनै चर्चा चलेको छैन। सम्भावना क–कसको हुन्छ अहिले भन्न सकिँदैन, उहाँको पनि हुनसक्ला। तर अहिले पार्टीभित्र एकताबद्ध भएर कसरी जाने भन्नेमा केन्द्रित हुनुहुन्छ।’

बैठकमा जिल्ला सभापति, प्रदेश सभापति र नेता खाणले पनि रुपन्देही–३ को वर्तमान वस्तुस्थितिबारे जानकारी गराएको बताइएको छ। यसले कांग्रेस उपनिर्वाचनलाई गम्भीरतापूर्वक लिएको संकेत गर्छ।


सम्बन्धित समाचार