Logo

९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा देशभरबाट २७ लाख ५० हजार ६ सय ७७ जनाले हस्ताक्षर गरेका छन् ।

पार्टी स्थापना दिवस असार ७ गतेबाट सुरु गरिएको यो हस्ताक्षर अभियान ३२ दिनमा यो संख्यामा पुगेको हो । अभियानअन्तर्गत ७ लाखभन्दा बढी हस्ताक्षर  ह्वाट्सएपबाटै संकलन भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार, अभियानकै क्रममा हालसम्म ५२ लाख रुपैयाँ पनि संकलन भएको छ । यो रकम अनलाइन क्यूआर कोड स्क्यान गरी बैंक खातामार्फत जम्मा गरिएको हो । कहाँबाट कति रकम संकलन भयो भन्ने विवरण छुट्टाइएको छैन । हस्ताक्षर अभियान सातवटै प्रदेशका साथै केन्द्रीय कार्यालय, काठमाडौंमा र्‍यापिड एक्सन टिम (र्याट)को व्यवस्थापनमा राखिएका बुथहरू, ह्वाट्सएप र इमेलमार्फत सञ्चालन गरिएको थियो।

बागमती प्रदेशबाट सबैभन्दा बढी हस्ताक्षर संकलन भएको छ भने सामाजिक सञ्जालको माध्यममा ह्वाट्सएपबाटै ७ लाखभन्दा बढीले हस्ताक्षर गरेका छन्। रास्वपाले सभापति लामिछानेमाथि सरकारले ‘राजनीतिक प्रतिशोध’ साँधेको भन्दै असार ७ गतेदेखि यो अभियान सुरु गरेको थियो।


सम्बन्धित समाचार