८ साउन, वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ८ को बिग्ही नदीमा निर्माण गरिएको पुलको उद्घाटन गरेका छन् । ।शुक्रबार दिउँसो साढे १२ बजे महोत्तरीको मटिहानी पुगेका प्रधानमन्त्री ओलीले बिग्ही नदीमा निर्माण गरिएको पुलको शिला अनावरण तथा रिबन काटेर पुलको उद्घाटन गरेका हुन् ।
मटिहानीलाई जनकपुरसँग जोड्ने सडकको रुपमा रहेको सो पुल निर्माणले सीमावर्ती भारतीय क्षेत्रबाट जनकपुर जाने सानो मार्ग बनाएको छ । उद्घाटनको अवसरमा महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम तथा रोजगारमन्त्री शरतसिंह भण्डारी, मधेश प्रदेशका प्रदेश प्रमुख सावित्री भण्डारी, मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलगायतको उपस्थिति थियो । कालिका कन्सट्रक्सन प्रा.लि.भरतपुर चितवनले ७ करोड ५७ लाख ८० हजार २८३ रुपियाँमा निर्माण गरिएको सो पुल ५० मिटरको छ ।
बिग्ही पुलमा यो भन्दा अगाडि रहेको पुल सानो तथा साँघुरो रहेकोले आवतजावतमा समस्या हुँदै आएको थियो । काठमाडौंबाट हेलिकप्टरमा आउनुभएका प्रधानमन्त्री मटिहानीको जलसागरबाट सिधै पुलको उद्घाटनपश्चात् पुलको निरीक्षण गर्नुभएको थियो ।
यसअघि महोत्तरी जानेक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुख्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । शुक्रबार महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएका प्रधानमन्त्री ओलीले सोही अवसरमा हेलिकोप्टरबाट सुक्खाग्रस्त क्षेत्रको अवलोकन पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिकाको वडा नम्बर ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गर्ने सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजाको रातुखोला पुल उद्घाटन गर्नेछन् । त्यहाँबाट उहाँ बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन सभालाई सम्बोधन गर्न आउनेछन् ।















