९ साउन, काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलको नेता परिवर्तन गर्ने प्रयास सुरु भएको छ ।
संसदीय दलका नेता बहादुर सिंह लामालाई हटाउने उद्देश्यले चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने मन्त्रीहरूमा युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ रहेका छन्।
मुख्यमन्त्रीबाट समेत पदमुक्त गर्ने तयारी
संसदीय दलको नेताबाट हटाएर लामालाई मुख्यमन्त्रीको पदबाट समेत मुक्त गर्ने पहल सुरु भएको छ। बागमती प्रदेश कांग्रेसका पार्टी सभापतिसमेत रहेका इन्द्र बानियाँले संसदीय दलको नेताप्रति सांसदहरू असन्तुष्ट रहेको जानकारी गराएका छन्। बानियाँले भने, ‘हिजो उहाँ (लामा) राजीनामा गर्न तयार हुनुहुन्थ्यो। आज राजीनामा नदिनेजस्तो गरियो।’ बानियाँले संसदीय दलको नेता परिवर्तन गर्ने गरी प्रक्रिया अगाडि बढेको बताएका छन्। पार्टीभित्र बानियाँ र लामा दुवै संस्थापन पक्षका मानिन्छन्।
२०७८ पुस १३ गते भएको कांग्रेस संसदीय दलको निर्वाचनमा बागमती प्रदेश सभापति बानियाँ लामासँग ५ मतले पराजित भएका थिए।















