९ साउन,काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्र आन्तरिक असन्तोष चुलिँदै गएको छ। पार्टीका २० जना केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अल्टिमेटम दिएका छन्।
शुक्रबार नाउपाका वरिष्ठ नेताहरूको उपस्थितिमा बसेको अनौपचारिक छलफलपछि उनीहरूले पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन चेतावनी दिएका हुन्।
अध्यक्ष श्रेष्ठलाई अल्टिमेटम दिने नेताहरूमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन्। उनीहरूले पार्टीलाई सक्रिय र संगठित बनाउन केन्द्रीय समिति बैठक अपरिहार्य भए पनि अध्यक्षले जानीजानी बैठक बोलाउन ढिलाइ गरिरहेको आरोप लगाएका छन्।
नेताहरूको संयुक्त हस्ताक्षरसहित पठाइएको पत्रमा भनिएको छ, “यदि आजको मितिबाट २४ घण्टाभित्र बैठक नबोलाए आगामी साउन ११ गते काठमाडौँमा हामी स्वयं बैठक डाक्नेछौँ।“
पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएको समूहले हालको नेतृत्व शैली पार्टीलाई निष्क्रिय बनाउने दिशामा लागेको भन्दै कडा आपत्ति जनाउँदै आएको छ। अध्यक्ष श्रेष्ठले भने यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन्।
अब अध्यक्षले बैठक बोलाउने कि नेताहरूले वैकल्पिक बैठकको आयोजना गर्ने भन्नेबारे राजनीतिक वृत्तमा चासो बढेको छ।















