९ साउन,काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन्।
उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना कहिँकतै पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन्। यो छर्लङग भएको विषय हो। त्यसैले मलाई पार्टीको सदस्यताबाट बञ्चीत गर्नुपर्ने कुनै कुरा छैन।’
यस्तै, उनले राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्यको विषय नभएको पनि बताइकी छन्।
उनले भनिन्, ‘वास्तवमा मेरो पार्टी सदस्यता नविकरण भइसकेकाले यसलाई विवादमा पर्नुपर्ने विषय नै होइन्। म एक राजनीति व्यक्ति भएकाले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीति दलमा आवद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै आश्चर्य मान्नुपर्ने विषय होइन्। यो कुनै पदमा महत्कांक्षी र आशा ममा छैन्। किनकी मैले आफ्नो नाम इतिहासमा लेखिसकेको छु। मेरो उद्देश्य पार्टीका सदस्य बन्ने र पार्टीलाई सवल र सुदृढ बनाउने र देश र जनताको सेवा गर्ने हो।’
मूलुकको एक जिम्मेवार नागरिक भएको नाताले आफ्नाबारे उठेको चासो र सरोकारलाई थप स्पष्ट पार्नु दायित्व भएको पनि उनको भनाई छ।
पार्टीका कतिपय निर्णय अपरिपक्व
यस्तै उनले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन्।
उनले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजर अन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन्।
उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ। यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ।’
आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएताप नि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ।















