Logo

९ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सदस्यता नवीकरण गरी पुनः सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छिन्।

नेकपा एमालेमा निषेधको हल्लापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू पार्टी त्यागेर राष्ट्रपति नबनेको र पार्टीकै जिम्मेवारी लिएर गएको स्पष्ट पारिन्। भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको विषय भएकाले यसलाई विवादमा ल्याउनु आवश्यक नरहेको बताइन्। ‘अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन,’ उनले भनिन्। आफू विधिअनुसार नै पार्टी परिवारको सदस्यमा जोडिएको उनको भनाइ थियो।

भण्डारीले आफू राजनीतिक व्यक्ति भएकै कारण राष्ट्रपति पदमा पुगेको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताइन्। उनले भनिन्, ‘म ३५ वर्ष पार्टी सदस्य भएपछि राष्ट्रपतिको शपथ खाएको हुँ। मैले पार्टी त्यागेर गएको होइन।’

पूर्वराष्ट्रपतिले आफूलाई कुनै पदको लालसा नभएको समेत स्पष्ट पारिन्। ‘म राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु। पदको लालसा छैन उनले थपिन्। यस घोषणासँगै पूर्वराष्ट्रपति भण्डारी पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको पुष्टि भएको छ।


सम्बन्धित समाचार