९ साउन, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा विरुद्ध नेपाली कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको छ । कांग्रेस संसदीय दलका २१ जना सांसदले हस्ताक्षरसहित शुक्रबार संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई उक्त प्रस्ताव बुझाएका हुन् ।
अविश्वास प्रस्ताव दर्ता गर्ने एक सांसदका अनुसार, बहादुर सिंह लामालाई हटाउन १९ जना सांसदको समर्थन आवश्यक पर्नेमा २१ जनाको हस्ताक्षर जुटेको छ । यससँगै मुख्यमन्त्री लामाको पद धरापमा परेको छ। संसदीय दलको नेता परिवर्तन भएमा उहाँ मुख्यमन्त्री पदमा पनि कायम रहनुहुने छैन ।
मुख्यमन्त्री लामालाई हटाउने पहलस्वरुप आजै बागमती प्रदेश सरकारका चार जना मन्त्रीले राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरूमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने हुनुहुन्छ। कांग्रेसभित्रको आन्तरिक राजनीतिका कारण यी मन्त्रीहरूले राजीनामा दिएको स्रोतले जनाएको छ ।















