९ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको समस्यालाई तत्काल समाधान गर्न ५०० वटा डिप बोरिङ जडान गर्ने घोषणा गरेका छन्। शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा नयाँ प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाईको अभावलाई कम गर्न सरकारले ठोस कदम चाल्न लागेको बताएका छन्।
उनले पानी नपरेर सिँचाइ र खानेपानी संकटमा परेका मधेस प्रदेशलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको स्मरण गराउँदै अब दीर्घकालीन र तत्कालिन उपायहरू मार्फत पानीको आवश्यकता पूरा गरिने बताए। प्रधानमन्त्री ओलीले हवाई उडानमार्फत महोत्तरी आउँदा अधिकांश जमिन सुक्खा देखिएको भन्दै मधेसका आठ जिल्लामा खानेपानी र सिँचाइको समस्या चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले पानीको अभावका कारण प्रत्यक्ष प्रभावित मधेशका जनता लागि विशेष कार्यक्रम ल्याइने बताए। यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसका सुख्खाग्रस्त क्षेत्रको समेत निरीक्षण गरेका थिए। मन्त्रिपरिषद् साउन ७ गतेको बैठकले मधेस प्रदेशलाई तीन महिना अवधिको विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो।















