प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ साउन,वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अहिले चौतर्फी विकासको बाटोमा अगाडि बढिरहेको दाबी गरेका छन्। आज बारामा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूर्वाधार, सडक, खानेपानी, शिक्षा र स्वास्थ्यलगायतका अनेक क्षेत्रमा देशले प्रगति गरिरहेको बताए।

प्रधानमन्त्री ओलीले यस विकासको गतिलाई अझ तीव्र बनाउन सरकारले नीतिगत प्रयास गरिरहेको उल्लेख गरे। आफू पहिलो पटक प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको काम प्रारम्भ गराएको स्मरण गर्दै अहिले यसको निर्माण कार्य द्रुत गतिमा अगाडि बढेको बताए। केही स्थानमा प्राविधिक कारणले काममा ढिलाइ भएको स्वीकार गर्दै त्यसमा ध्यान दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए।

यतिखेर मेचीबाट हुलाकी राजमार्ग हुँदै महाकाली पुग्ने थियौं भन्दै उनले राजमार्गलाई पूर्वदेखि पश्चिमसम्म अविच्छिन्न राजमार्गको रूपमा अगाडि बढाउने र १०–१२ वटा स्मार्ट सिटी स्थापना गर्ने गरी सरकार अगाडि बढेको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले बारा जिल्लालाई माछाको सुपर जोनको रूपमा घोषणा गरिएको दाबी गर्दै यसले किसानको आम्दानी चार गुणाले बढेको बताए। उनले नेपालको आवश्यकतालाई परिपूर्ति गर्दै कृषिमा आधुनिकीकरण तीव्र गतिमा बढेको र यसबाट ठूलो मात्रामा उत्पादन गरी त्यसलाई बजारसम्म पु¥याएर नयाँ नेपाल निर्माणको बाटोमा विकसित बनाउने लक्ष्य रहेको बताए।

एक वर्षभित्र अल्पविकसित देशबाट विकसित देशमा स्तरोन्नति हुँदैछ भन्दै उनले केही पनि भएको छैन भन्नु गलत हो, केही काम बाँकी छ भन्ने धारणा राखे।

प्रधानमन्त्रीले राजनीतिक अस्थिरतालाई ठूलो समस्याका रूपमा औंल्याउँदै पार्टीहरूलाई काम गर्न नदिने, तोडफोड गर्ने र सरकार तथा प्रतिपक्षको यथार्थ भूमिकामा बस्न नचाहने प्रवृत्ति देखिएको बताए। नेपाल अशान्त देशका रूपमा सधैं समस्या नै समस्याले घेरिएको जस्तो बनेको थियो भन्दै उनले यो स्थितिको अन्त्य भएको बताए। नेपाली जनतामा बढेको चेतनाका लागि उनले धन्यवाद व्यक्त गरे।

नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सात बुँदे सम्झौता गरी अन्य पार्टीहरूलाई पनि समेटेर संयुक्त सरकार बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अस्थिरताको अन्त्य गर्ने र स्थिरता तथा स्थायित्वमा देशलाई लगेर विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढेको बताए।


सम्बन्धित समाचार
भर्खरै