१० साउन,सुनसरी। सुनसरी जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न स्थानीय तहमा पशु चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख मनोज मेहताका अनुसार इनरुवाका साथै धरान, इटहरी, दुहबी, बराहक्षेत्र, रामधुनी, कोशी, गढी, देवानगञ्ज, बर्जु, भोक्राहानसिंह र हरिनगर गाउँपालिकामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ।
जिल्लाभर हालसम्म १ हजार ५१६ वटा पशुचौपायामा यो सङ्क्रमण पुष्टि भएको छ। सबैभन्दा बढी दुहबी नगरपालिकामा २७६ पशुचौपाया प्रभावित भएका छन् भने सबैभन्दा कम धरान उपमहानगरपालिकामा १५ वटामा सङ्क्रमण देखिएको छ।
लम्पी स्किनका कारण जिल्लामा हालसम्म ५३ वटा पशुचौपायाको ज्यान गइसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी बराहक्षेत्र नगरपालिकामा १३ वटा पशुचौपाया रहेका छन्।
यस रोगको रोकथामका लागि हालसम्म ६४ हजार ४४१ वटा पशुचौपायालाई खोप लगाइएको प्रमुख मेहताले जानकारी दिए।















