Logo

१० साउन,चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले अवैधानिक रूपमा भारततर्फ निर्यात गर्न लागिएको ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आज बिहान करिब ४ बजे चितवन प्रहरीले ६ सय ७१ किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार, चितवन हुँदै भारततर्फ लैजान लागेको अवस्थामा राप्ती नगरपालिका १, लोथर पुल नजिकैबाट उक्त गाँजा बरामद गरिएको हो।

भारतबाट नेपाल आएको यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडि ड्राइभर बस्ने सिटमाथि ’फल्स बटम’ बनाएर त्यसमा ४३ वटा प्याकेट बनाएर लुकाइराखेको अवस्थामा प्रहरीले गाँजा फेला पारेको थियो।

गाँजासँगै प्रहरीले ट्रक र चालक शेख सविल अख्तरलाई पनि नियन्त्रणमा लिएको छ। ३७ वर्षीय अख्तर भारतको पूर्वी चम्पारण जिल्लाको तुर्कालिया घर भएका व्यक्ति हुन्। प्रहरीले चालकसँग रहेको एक थान मोबाइल पनि बरामद गरेको जनाएको छ।

एसपी पुरीले चितवनकै माथिल्लो भेगमा अवैधानिक रूपमा लगाइएको गाँजा भारत लैजाने सूचनाका आधारमा यो कारबाही गरिएको जानकारी दिए। गाँजा तस्करीमा संलग्न अन्य व्यक्तिबारे पनि खोजी तथा अनुसन्धान भइरहेको चितवन प्रहरीले बताएको छ।

 


सम्बन्धित समाचार