Logo

१० साउन,काठमाडौं। विद्युतीय र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहोर (ई–फोहोर) को उचित व्यवस्थापनका लागि कानुनी व्यवस्थाको खाँचो औंल्याइएको छ। विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पन्न हुने फोहोर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारले बताएका छन्।

उत्पादकको दायित्व र वातावरणीय असर
पञ्जियारका अनुसार, उत्पादकले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहोर व्यवस्थापनको जिम्मेवारी सैद्धान्तिक रूपमा सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिले सुझाव दिएको छ। विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहोर पनि मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ।

वातावरण संरक्षणकर्मीहरूको धारणा छ कि, कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनःप्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्छ। उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरूको भनाइ छ। विद्युतीय फोहोरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा यस्तो कानुनी प्रावधानसहितको व्यवस्थापन गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

नेपालमा ई–फोहोरको बढ्दो चुनौती
नेपालमा यस विषयमा बहस सुरु भए पनि त्यसले कानुनी स्वरूप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताए। हालसम्म व्यक्तिगत वा संस्थागत रूपमा यस्ता कार्यक्रमहरू गरिए पनि कानुनी प्रावधानसहितको आवश्यक प्रबन्ध मिलाउने दायित्व सरकारको भएको उनको भनाइ छ।

डोको रिसाइक्लर्सलगायतका कम्पनीहरूले ’नयाँ धारणा, स्वच्छ सपनाः फोहोर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहोर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन्। डोकोले काठमाडौं र पोखरामा फोहोर संकलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीस्थित प्रशोधन केन्द्रबाट विद्युतीय फोहोर छुट्याएर व्यवस्थापन गर्दै आएको छ। ती फोहोरबाट आम्दानीसमेत गरिएको छ।

२०७४ सालदेखि विद्युतीय फोहोर संकलन गर्दै आएको डोकोले वातावरण संरक्षणमा हानि नपुग्ने गरी फोहोर विसर्जन गर्दै आएको छ। विद्युतीय फोहोर प्रतिकिलो १५ रुपैयाँका दरले संकलन गरी पुनःप्रयोग गर्न सकिनेलाई उद्योगमै पठाउने गरिएको छ।

डोको रिसाइक्लर्सका अनुसार, सन् २०१३ मा काठमाडौं उपत्यकाबाट ३५० टन विद्युतीय फोहोर संकलन र प्रशोधन तथा १ हजार ६०० टन कागज, सिसा, फलामजस्ता फोहोर व्यवस्थापन गरिएको थियो। त्यसबाट ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहोर रहेकामा हाल बढेर ४२ हजार टनसम्म पुगेको संस्थाको अनुमान छ।

“यो औपचारिक रेकर्डसहितको तथ्याङ्क हो। दश वर्षमा तीन गुणासम्म फोहोर बढिरहेको छ। अहिले मूल्यवान कबाडीजन्य सामग्री मात्र संकलन गरी लैजाने गरिएकामा सबै फोहोर उत्पादन कम्पनीले लैजाने व्यवस्था मिलाउनुपर्छ,“ निर्देशक पञ्जियारले भने।

अन्य कम्पनीका पहल र आवश्यकता
डोकोबाहेक अन्य कम्पनीहरूले पनि हेटौंडा र विराटनगरमा विद्युतीय फोहोर संकलन सुरु गरेका छन्। प्राक्टिकल एक्सन नेपाल प्रोजेक्ट म्यानेजर रबिन श्रेष्ठका अनुसार, विद्युतीय चुलोको प्रयोग अवधि सकिएपछि त्यसको व्यवस्थापनका लागि डोको रिसाइक्लर्स र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा वातावरणमैत्री फोहोर विसर्जन र पुनःप्रयोग अघि बढाइएको छ। उनले “सरकारले प्रभावकारी कानुनी प्रबन्ध गरी वातावरणमैत्री फोहोर विसर्जन आवश्यक छ“ भन्नेमा जोड दिए।

नेपाल फूलबारी वेष्ट थ्रि आर सोलुसन कन्ट्रोल सर्भिस प्रालिका सूचना अधिकृत अर्जुन खत्रीले प्रत्येक घरबाट संकलित फोहोरबाट जैविक र अजैविक छुट्याएर व्यवस्थापन गर्ने गरिएको जानकारी दिए। संकलित फोहोरमध्ये ६० प्रतिशत जैविक हुन्छ र त्यसमध्ये पनि ३५ प्रतिशत फोहोर पशुजन्य आहारका रूपमा प्रयोग गर्ने गरिएको छ।

सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायतका अजैविक फोहोर टुक्रा पारेर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको जानकारी दिँदै उनले कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहोर पुनःप्रयोगका लागि कच्चापदार्थका रूपमा उद्योगमा पठाउने गरिएकाले आयआर्जनको राम्रो स्रोत बनेको बताए।


सम्बन्धित समाचार