११ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले तराई–मधेशका २१ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई खानेपानी र सिँचाइ संकट समाधानका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् । विपद् संकटग्रस्त घोषणा गरिएका मधेश प्रदेशका जिल्लामा समस्या झेलिरहेका नागरिकलाई सहायता पुर्याउन उनले आग्रह गरेका हुन्।
शनिबार आयोजित एक भर्चुअल समन्वय बैठकमा मन्त्री लेखकले डिप ट्युववेल र डिप बोरिङ जडान गर्ने स्थान पहिचान गर्न प्राथमिकताका आधारमा कार्य गर्न निर्देशन दिए । साथै, संकटको बेला कालोबजारी र कार्टेलिङ हुन नदिन नियमित अनुगमन गर्न पनि उनले सीडीओलाई निर्देशन दिएका छन्।
सरकारले मधेशलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले यस क्षेत्रलाई सुक्खाग्रस्त घोषणा गरेको थियो।















