११ साउन, मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेवी चोकबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चार भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर रहेका छन् ।
सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठका अनुसार, भारतको सुगौलीबाट पर्साको वीरगञ्ज हुँदै काठमाडौंतर्फ जाँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय गाडीको तीनवटा ढोकामा फल्स बटम बनाई लुकाएर लागूऔषध ओसारपसार गरिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन बेस कुलेखानीबाट खटिएको टोलीले हिजो बेलुका शंका लागेपछि गाडी जाँच गर्दा लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका शेख गजुर सो गाडीका चालक रहेको पुष्टि भएको छ।
उनीहरूलाई लागूऔषध सम्बन्धी अभियोगमा आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्र हुँदै हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी कडा बनाएको जनाएको छ।















