११ साउन,काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी कर्मचारी आफैँखुसी गैरहाजिर भई सम्पर्कविहीन रहेको भन्दै प्रहरी प्रधान कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयका अनुसार प्रहरी नियमावली, २०७१ को नियम ११५(२) बमोजिम प्रक्रिया पूरा गरी यसअघि नै सूचना टाँस गरिएको थियो। तर तोकिएको समय बित्दासमेत सम्बन्धित प्रहरी कर्मचारीहरू कार्यालयको सम्पर्कमा नआएकाले पुनः सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको हो।
प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ, “तपाईंहरू देहायका प्रहरी कर्मचारीहरू आफूखुसी गैरहाजिर रहेको अवस्थामा कार्यालयको सम्पर्कमा नआएकाले सात दिनभित्र आफैं गैरहाजिर हुनुको कारण खोली, सन्तोषजनक स्पष्टिकरणसहित कार्यालयमा हाजिर हुन आउनुहुन सूचित गरिन्छ।”
यदि तोकिएको सात दिनभित्र स्पष्टीकरण नदिई हाजिर नभए, त्यस्ता प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावली २०७१ को नियम ११३ (१) (च) अनुसार गैरहाजिर भएको कसुर मानिने र सोही बमोजिम नियम १०९ (ख)(१) अनुसार सेवाबाट हटाउने कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीहरूको नाम सार्वजनिक गरिएको छैन भने उनीहरू कुन जिल्लामा कार्यरत थिए भन्ने विवरण पनि उल्लेख गरिएको छैन। प्रहरी प्रधान कार्यालयले यस्ता कार्यप्रति गम्भीर ध्यान दिँदै प्रशासनिक अनुशासन कायम गर्न आवश्यक कदम चालिने जनाएको छ।
















