११ साउन,काठमाडौं । भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको प्रसिद्ध मनसा देवी मन्दिरमा आइतबार बिहान भएको भागदौडमा परी कम्तीमा ६ जना श्रद्धालुको मृत्यु भएको छ।
घटनाको पुष्टि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले गरेका छन्। अहिले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको भारतीय प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक विवरणअनुसार, भीड अत्यधिक भएपछि अचानक भागदौड मच्चिएको थियो। तीव्र गर्मी, व्यवस्थापनको कमी र भीड नियन्त्रणमा चुनौतीका कारण घटनाले भयावह रूप लिएको बताइएको छ।
प्रहरी र राहत टोलीले घाइतेहरूको उद्दार गरिरहेको छ भने घटनाको कारणबारे विस्तृत छानबिन सुरु गरिएको जनाइएको छ।
मनसा देवी मन्दिर उत्तराखण्डको प्रमुख धार्मिक स्थलमध्ये एक हो, जहाँ प्रत्येक दिन हजारौं भक्तजन दर्शनका लागि पुग्ने गर्छन्। विशेष गरी आइतबार र पर्वको दिन मन्दिरमा अत्यधिक भीड लाग्ने गर्दछ।
मुख्यमन्त्री धामीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको उपचारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउन निर्देशन दिइएको बताइएको छ।















