११ साउन, काठमाडौं । इजरायलको खाद्यान्न आपूर्तिमा अवरोधका कारण गाजामा मानवीय संकट गहिरिँदै गएको छ।
बालबालिकाहरू नुन चाटेर र पानी पिएर भोक मेट्न बाध्य भएको दर्दनाक अवस्था सार्वजनिक भएको छ। इजरायल–हमास युद्ध सुरु भएयता २२ महिनामा भोकमरीका कारण १२४ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ८१ जना बालबालिका छन्। यसै जुलाई महिनामा मात्रै भोकमरीबाट १६ बालबालिकासहित ४० जनाको ज्यान गएको छ।
अभूतपूर्व महँगी र शारीरिक कष्ट
गाजामा ५० ग्रामको बिस्कुटको मूल्य १ हजारभन्दा बढी पुगेको छ। नगद पैसा निकाल्न पनि ४५ प्रतिशतसम्म कमिसन तिर्नुपर्छ। इजरायलले विदेशी पत्रकारहरूलाई प्रवेश निषेध गरेकाले स्थानीय सञ्चारकर्मीहरूले नै त्यहाँको अवस्थाबारे जानकारी बाहिर ल्याइरहेका छन् । एक पत्रकारले २१ महिनामा आफ्नो तौल ३० किलोले घटेको र आफू थकान र रिंगटासँग जुधिरहेको बताएका छन्। यसले गाजावासीले भोगिरहेको शारीरिक कष्टको भयावह चित्र प्रस्तुत गर्दछ।
कुपोषणले बढ्दो मृत्युदर
दक्षिण गाजाको सबैभन्दा ठूलो नासिर अस्पतालका एक स्वास्थ्यकर्मीका अनुसार, गाजाका सबै मानिसहरू भोकमरीको संकटसँग जुधिरहेका छन् र कुपोषणका कारण ज्यान गुमाउने बालबालिकाको संख्या निरन्तर बढिरहेको छ। युद्धको सुरुमा हवाई आक्रमणबाट घाइते हुनेहरूको संख्या बढी भए पनि अहिले कुपोषणग्रस्त बालबालिकाहरू अस्पतालमा भरिएको उनको भनाइ छ। संयुक्त राष्ट्रसंघले गाजाको एक तिहाइ जनसंख्याले धेरै दिनमा एकपटक मात्र खाना पाउने अवस्था रहेको जनाएको छ।
हवाई मार्गबाट सहायता सुरु, राजनीतिक प्रतिक्रिया जारी
गाजामा मानवीय संकटप्रति बढ्दो अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायली सेनाले हवाई मार्गबाट मानवीय सहायता पुर्याउन सुरु गरेको छ। इजरायलका लागि अमेरिकास्थित राजदूत येचिएल लाइटरले शनिबार इजरायली सेनाले आइतबारदेखि गाजाका लागि मानवीय कोरिडोर खोल्ने घोषणा गरेका छन्, जसको उद्देश्य गाजावासीका लागि सहायता बढाउनु हो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमास शान्ति होइन, मृत्यु खोजिरहेको प्रतिक्रिया दिँदै इजरायललाई गाजामा आफ्नो लक्ष्य पूरा गर्न र सैन्य कारबाही तीव्र बनाउन आग्रह गरेका छन्। उनले ूइजरायलले हमासलाई सम्पूर्ण रूपमा समाप्त गर्ने समय आइसकेकोू बताएका छन्।
लागूपदार्थको आरोप
गाजाको सरकारी मिडियाले इजरायली सेनामाथि प्यालेस्टिनी जनतालाई लागूपदार्थ ९ड्रग्स० दिइरहेको आरोप लगाएको छ। उनीहरूको आरोपअनुसार, गाजा ह्युम्यानिटेरियन फाउन्डेसन (जीएचएफ) ले बाँडेका पीठोको बोरामा ुअक्सिकोडोनु नामक लागूपदार्थका गोलीहरू भेटिएका छन्। जीएचएफ इजरायली सेनाद्वारा सञ्चालित र अमेरिकाबाट समर्थित संस्था हो।















