Logo

११ साउन, काठमाडौं । अमेरिका स्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अपराह्न अमेरिकन एयरलाइन्सको उडान एए ३०२३ को अवतरणका क्रममा ल्याण्डिङ गियरमा आगलागी भएको छ। दुर्घटनापछि विमानमा सवार १७३ जना यात्रु र छ जना चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्दार गरिएको छ।

डेनभर अग्नि नियन्त्रण विभागका अनुसार, बोइङ ७३७ म्याक्स विमान डेनभरबाट मियामीका लागि रनवे ३४ एल बाट उडान भर्ने तयारीमा थियो। तर उडानको क्रममा ल्याण्डिङ गियरमा समस्या देखिएपछि विमानलाई रनवेमै रोक्नुपरेको थियो।

टायरमा मर्मतसम्भारको समस्या

फ्लाइटअवेयरको जानकारीअनुसार, विमान दिउँसो १:१२ बजे गेट C34 बाट प्रस्थान गर्ने तालिका थियो। तर २:४५ बजे टेकअफको क्रममा समस्या देखिएको रिपोर्ट गरिएको छ। घटनापछि यात्रुहरूलाई बसमार्फत टर्मिनलमा लगिएको हो।

अमेरिकन एयरलाइन्सले दुर्घटनापछि विज्ञप्ति जारी गर्दै टायरसँग सम्बन्धित मर्मतसम्भार समस्या देखिएको र सोही कारणले विमानलाई सेवाबाट हटाइएको पुष्टि गरेको छ। मर्मतसम्भार टोलीले विस्तृत जाँच गरिरहेको बताइएको छ।

घटनामा सामान्य चोट, गम्भीर क्षति भने छैन

डेनभर विमानस्थलले सबै यात्रु र चालक दल सुरक्षित रहेको पुष्टि गर्दै घटनास्थलमा पाँच जनाको प्रारम्भिक स्वास्थ्य मूल्याङ्कन गरिएको जनाएको छ। तीमध्ये एकजनालाई सामान्य चोटपटकका कारण अस्पताल लगिएको हो।

भिडियो सामाजिक सञ्जालमा भाइरल

घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियामा विमान रनवेको बीचमा उभिएको देखिन्छ, जहाँ टायरमा आगो लागेको र बाक्लो धुवाँ उठिरहेको छ। यात्रुहरूलाई तत्काल आपतकालीन ढोकाबाट बाहिर निस्कन लगाइएको देखिन्छ।

एफएएद्वारा अनुसन्धान सुरु

अमेरिकाको संघीय उड्डयन प्रशासन (FAA) ले उक्त घटनाको औपचारिक अनुसन्धान सुरु गरिसकेको छ। प्रारम्भिक तथ्य संकलन कार्य अगाडि बढाइएको बताइएको छ।


सम्बन्धित समाचार