११ साउन,काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने प्रचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।
आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले चितवनमा भइरहेको विद्युत् आपूर्तिको अवरोधलाई लोडसेडिङ भन्नु भ्रामक भएको बताए। उनका अनुसार, सवस्टेशन अपग्रेड गर्न तथा पुरानो कन्डक्टर फेर्ने कार्यका लागि आइतबार र सोमबार विद्युत् आपूर्ति केही समयका लागि रोकिएको हो।
शाक्यले भने, “पुरानो कन्डक्टरका कारण प्रणालीले आवश्यक लोड धान्न नसक्ने अवस्था आएको छ। त्यसैले नयाँ कन्डक्टर जडान गरी प्रणाली स्तरोन्नति गरिँदैछ।“ उनका अनुसार विकास निर्माणसँगै विद्युत् माग बढ्दै गएकाले पुराना संरचना अबको लोड धान्न अयोग्य बनेका छन्।
बक्यौता असुलीमा पनि स्पष्ट नीति
कार्यकारी निर्देशक शाक्यले डेडिकेटेड र ट्रंक लाइन प्रयोगकर्तासँगको बक्यौता विवाद समाधान गर्न गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको जानकारी पनि दिए।
उनले भने, “समितिले निष्कर्ष निकालेपछि बक्यौता असुली प्रक्रिया अघि बढाइनेछ। यदि समयमै भुक्तानी नभएमा लाइन काटिनेछ।“
शाक्यका अनुसार, प्राधिकरणले आपूर्ति निरन्तरता, सुधार र मर्मत कार्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ। लोडसेडिङ फिर्ता आएको भन्ने अफवाहमा नपर्न आम सर्वसाधारणलाई आग्रह गर्दै उनले आगामी दिनमा थप आधुनिकीकरण र स्तरोन्नतिको कार्य अघि बढ्ने जानकारी गराए।















