११ साउन,सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशभित्र क्रियाशील ६९३ जना पत्रकारको स्वास्थ्य बीमा गरेको छ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको सहकार्यमा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत यो स्वास्थ्य बीमा योजना कार्यान्वयन गरिएको हो।
स्वास्थ्य बीमा योजनाअन्तर्गत राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग सम्झौता गरिएको छ। सम्झौता अनुसार, बीमित पत्रकारले प्रति वर्ष ७० हजार रुपैयाँसम्मको औषधोपचार सेवा प्राप्त गर्न सक्नेछन्। मन्त्रालयका अनुसार, कुल बीमा खर्च करीब १४ लाख रुपैयाँ बराबरको छ।
बीमा दाबी गर्न बीमित पत्रकारले बिरामी परेपछि ६० दिनभित्र वा अस्पतालबाट डिस्चार्ज भएपछि ३५ दिनभित्र बीमा कम्पनीलाई जानकारी गराउनुपर्नेछ।
पत्रकार संरक्षणमा प्रदेश सरकारको प्रतिबद्धता
आइतबार आयोजित स्वास्थ्य बीमा पोलेसी हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने, “पत्रकारिता सत्यको खोजी गर्ने, जनताको आवाज बुलन्द पार्ने जिम्मेवार पेशा हो। यस्तो संवेदनशील काम गर्ने पत्रकारको सुरक्षा र संरक्षणमा राज्यको चासो अपरिहार्य छ।“
मुख्यमन्त्री कँडेलले प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले राज्य र सञ्चारकर्मीबीच पारदर्शिता, आपसी सम्मान र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
महासंघको प्रतिक्रिया
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका प्रतिनिधिहरूले प्रदेश सरकारद्वारा सञ्चारकर्मीको सुरक्षाप्रति देखाइएको संवेदनशीलता र सक्रियतालाई ऐतिहासिक कदमका रूपमा मूल्याङ्कन गरेका छन्। कार्यक्रममा मन्त्रालयका सचिव, कर्मचारी, पत्रकार महासंघ, सञ्चार संस्था प्रतिनिधिलगायतको उपस्थित थियो।















