Logo

फाइल तस्वीर

११ साउन,वीरगञ्ज । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश केन्द्रित सात दलको गठबन्धन संघीय लोकतान्त्रिक मोर्चा सँगको सहकार्यबारे गम्भीर पुनर्विचार गर्ने बताएको छ। मोर्चाभित्र देखिएको गहिरो असन्तुष्टिका कारण पार्टीले उक्त निर्णय गर्न लागेको हो।

जनमत पार्टीले मोर्चाभित्र मुख्यतः तीन विषयमा आपत्ति जनाउँदै हालको अवस्थामा सहकार्य सम्भव नहुने संकेत दिएको छ।

पार्टीको पहिलो असन्तुष्टि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई मोर्चामा समावेश नगरिएको विषयमा रहेको छ। जनमतका प्रवक्ता डा. शरदसिंह यादवले भने, “मधेशकै सबैभन्दा ठूलो मधेशी दल जसलाई सात जना सांसद छन्, त्यसलाई मोर्चाबाहिर राखेर लोकतान्त्रिक मोर्चा कसरी बलियो बन्छ?“

दोस्रो विवाद भने उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सँगको सम्बन्धलाई लिएर हो। जनमत पार्टीले आरोप लगाएको छ कि जसपा नेपालले सत्ता गठबन्धनमा जनमतको स्थान ओगट्ने नियतले षड्यन्त्र गर्दै आएको छ। प्रवक्ता यादवका अनुसार, “हामीलाई केन्द्रदेखि मधेशसम्म सरकारबाट बाहिर राख्ने प्रयास भइरहेको छ,“ जसमा जसपा नेपालको भूमिका रहेको आशंका गरिएको छ।

तेस्रो र ताजा विवाद रुपन्देही–३ उपनिर्वाचन हो। जहाँ मोर्चाका अधिकांश दल नागरिक उन्मुक्ति पार्टीका साझा उम्मेदवारको पक्षमा देखिँदा जनमतले भने “हाम्रो छुट्टै उम्मेदवार हुनेछ“ भन्दै फरक चुनावी रणनीति अपनाउने स्पष्ट पारेको छ।

जनमत पार्टीको यो अडानले मोर्चाभित्र साझा चुनावी रणनीति निर्माणमा असहजता उत्पन्न गरेको छ। यद्यपि मोर्चाका दलहरू आलोपालो बैठक बोलाउँदै आएका छन्, सोमबार जसपा नेपालले बोलाएको बैठकमा जनमत पार्टी सहभागी नहुने सम्भावना देखिएको छ।

गत चैतमा मधेशका सात प्रमुख दल — जनमत, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, लोसपा, जनता प्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टी — मिलेर संघीय लोकतान्त्रिक मोर्चा गठन गरिएको थियो। तर पछिल्ला विवाद र असहमति यस मोर्चाको भविष्यमाथि नै गम्भीर प्रश्नचिह्न खडा गरिरहेको छ।


सम्बन्धित समाचार
भर्खरै