Logo

१२ साउन,काठमाडौं । भारतको बिहार राज्यमा एक अचम्मको घटना सार्वजनिक भएको छ। पश्चिम चम्पारण जिल्लास्थित बेतिया नगर नजिकको मोहची बंकटवा गाउँमा एक वर्षीय बालकले विषालु कोब्रा सर्पलाई दाँतले टोकेर मारिदिएको समाचारले सबैको ध्यान तानेको छ।

घटना बिहीबार भएको हो। गोविन्द कुमार नाम गरेका ती बालक आइसक्रिम विक्रेता सुनील साहका छोरा हुन्। बालककी हजुरआमा मतिसरी देवीका अनुसार, घरको पछाडि काम गरिरहेकी आमाको आँखा अगाडि बालकले खेल्दाखेल्दै सर्प समातेर दाँतले टोके। “सर्प हेर्दा कोब्रा प्रजातिको थियो,” उनले बताइन्।

कोब्रालाई टोकेपछि बच्चा बेहोस, तर अहिले स्वस्थ
सर्प टोकेपछि बालक केहीबेर बेहोस भए। तत्कालै उनलाई मझौलिया प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको थियो, जहाँबाट ८८बेतियास्थित सरकारी मेडिकल कलेज ८८मा रिफर गरिएको थियो। उपचारपछि बालक अहिले पूर्णतः स्वस्थ छन्।

बालरोग विभागका सहायक प्राध्यापक डा. कुमार सौरभका अनुसार, बच्चा अस्पताल ल्याउँदा अनुहार सुन्निएको थियो, विशेषगरी मुख वरिपरि। “परिवारका अनुसार बच्चाले सर्पलाई मुख नजिकै टोकेका थिए,” उनले भने।

सर्प टोक्दा र टोकिएपछि विषको असर फरक
डा. सौरभका अनुसार, “जब सर्पले मानिसलाई टोक्छ, विष रगतमा जान्छ र स्नायु प्रणालीलाई असर गर्छ। तर जब मानिसले सर्पलाई टोक्छ, विष पाचन प्रणालीबाट जान्छ, जुन अवस्था शरीरले विषलाई निष्क्रिय पार्न सक्छ।”

तर उनले चेतावनी पनि दिए– यदि पाचन प्रणालीमा कुनै चोट, अल्सर वा रक्तस्राव भएको खण्डमा विषले गम्भीर असर गर्न सक्छ।

स्थानीय स्तरमा चासोको विषय
घटनापछि बालक गोविन्द स्थानीयस्तरमा चर्चाको पात्र बनेका छन्। मझौलियाका स्थानीय पत्रकार नयाजका अनुसार, “हाम्रो क्षेत्रमा सर्प निस्कनु सामान्य हो, तर सर्पलाई बालकले टोकेर मार्नु पहिलो घटना हो।”

भारतमा सर्पको टोकाइ– एक गम्भीर समस्या
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभर हरेक वर्ष ८० हजारदेखि १ लाख ३० हजार मानिसको सर्पदंशबाट मृत्यु हुन्छ। भारतमा मात्र वार्षिक ५८ हजारको मृत्यु हुने अनुमान गरिएको छ, जसका कारण देशलाई “सर्पदंशको राजधानी” पनि भनिन्छ।

बिहारको स्वास्थ्य तथ्याङ्कअनुसार, अप्रिल २०२३ देखि मार्च २०२४ सम्म राज्यमा १७,८५९ जना सर्पदंशका बिरामी सरकारी अस्पताल आएका थिए, र तीमध्ये ९३४ जनाको मृत्यु भएको थियो।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार, सर्पको टोकाइबाट हुने धेरैजसो मृत्युलाई कम रिपोर्ट गरिएको हुन्छ, किनभने अधिकांश बिरामी समयमै अस्पताल पुग्न सक्दैनन्।


सम्बन्धित समाचार