१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जर गाउँपालिका–६ छेत्पाबाट रहस्यमय ढंगले बेपत्ता भएको उर्मिला हायूको १६ जनाको परिवारबारे थप एक सनसनीपूर्ण तथ्य बाहिर आएको छ।
बेपत्ता भएकी उर्मिलाका श्रीमान् सने हायू पनि तीन वर्षअघि यसैगरी बेपत्ता भएको र पछि जंगलमा उनको हाडखोर भेटिएको एक स्थानीयले जानकारी दिएका छन्। स्थानीयबासी तथा शिक्षक सुमन कोइरालाका अनुसार, सने हायू करिब तीन वर्षअघि घरबाटै बेपत्ता भएका थिए। लामो खोजी गर्दा पनि कतै नभेटिएका हायूको हाडखोर केही महिनापछि नजिकैको जंगलमा फेला परेको थियो। यो घटनाले पहिले नै शोकमा डुबेको परिवारमाथि अहिले अर्को ठूलो बज्रपात आइपरेको छ।
बेपत्ता परिवारको संरचना र भत्ता प्रकरण
हाल बेपत्ता परिवारमा उर्मिलासहित उनका ६ जना छोरा, ६ वटी छोरी, एक बुहारी र एकजना नातिनी गरी १६ जना सदस्य रहेको कोइरालाले बताएका छन् । कोइरालाले दिएको जानकारीअनुसार, हायू परिवारले वडा कार्यालयबाट तीन महिनाको सीमान्तीकृत भत्ता एकैपटक बुझेको पाइएको छ। ‘साउन लागेपछि सीमान्तीकृत भत्तासम्बन्धी कार्ड नवीकरण गर्नुपर्ने हुन्छ, त्यसका लागि वडा कार्यालय गएका उनीहरूले यी १६ जनासहित बाहिर भएका दुईजनाको समेत भत्ता लिएको खुलेको छ,’ कोइरालाले बताए। उनीहरूले तीन महिनाको भत्ता गरी करिब २ लाख १६ हजार रुपैयाँ एकैपटक बुझेको पनि पाइएको छ।
एकै परिवारमा दोहोरिएको यो रहस्यमय बेपत्ता र विगतको घटनाले स्थानीय प्रशासन तथा प्रहरीलाई थप चुनौती खडा गरेको छ। प्रहरीले बेपत्ता परिवारको खोजीकार्य तीव्र पारेको छ भने घटनाको गम्भीरताका साथ अनुसन्धान गरिरहेको छ।

















