Logo

१२ साउन,वीरगञ्ज । मधेश प्रदेशमा बर्खाको मौसम हुँदाहुँदै पनि खानेपानीको बढ्दो अभाव र संकटलाई मध्यनजर गर्दै युनिसेफ नेपाल र वीरगञ्ज महानगरपालिकाले संयुक्त रूपमा सातदिने जनचेतनामूलक ‘पानी बचाउ अभियान’ सुरु गरेका छन्।

अभियान ८८नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र र एन.जी.ओ. सि.सि.८८को सहकार्यमा संचालन गरिएको हो। कार्यक्रमको उद्देश्य पानीको बचत र जिम्मेवार प्रयोगबारे समुदाय तथा विद्यार्थीहरूमा चेतना फैलाउने रहेको छ।

विद्यालय र समुदायस्तरमा जनचेतना फैलाउँदै
अत्यधिक प्रभावित वडाहरूमा स्वयंसेवक परिचालन गरी विद्यालय र समुदायस्तरमा पानीको महत्त्व, बचत, र पुनः प्रयोगबारे प्रशिक्षण र संवाद कार्यक्रम सञ्चालन गरिएको छ। विशेषतः नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई लक्षित गरी व्यावहारिक तालिम प्रदान गरिएको हो।

व्यवहारमा आधारित तालिम
तालिममा घरेलु पानी प्रयोग घटाउने तरिका, लिक भएका धाराको मर्मत, वर्षा पानी संकलन, तथा पानीको पुनः प्रयोग जस्ता उपायहरूबारे विस्तृत जानकारी दिइएको थियो।

तालिम कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखाकी वरिष्ठ समाजसेवी गुड्डी साहको नेतृत्वमा सम्पन्न भएको हो। नन्दनी गुप्ता र प्रिया कुश्वाहाले सहजीकरणमा साथ दिएका थिए। त्यस्तै, एन.जी.ओ. सि.सि.का प्रतिनिधि दुलारचन प्रसाद र आनंद यादवको पनि कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

दीर्घकालीन प्रभाव र विस्तारको तयारी
आयोजकहरूका अनुसार, यो अभियानले विद्यार्थी र समुदायमा पानीको जिम्मेवार र दिगो उपयोगप्रति सचेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। उनीहरूले यस्ता कार्यक्रमहरूबाट दीर्घकालीन रूपमा जल संकट समाधानमा सघाउ पुग्ने उल्लेख गरेका छन्।

यसैबीच, आयोजकहरूले यो अभियानलाई मधेश प्रदेशका अन्य जल अभावग्रस्त जिल्लाहरूमा पनि विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।


सम्बन्धित समाचार