१२ साउन,रूपन्देही। लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष मन्त्री पाण्डेले आज पद तथा गोपनीयताको सपथ लिएका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरूको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमबार सपथ ग्रहण गरेका हुन्।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका थिए। करिब एक वर्षदेखि मुख्यमन्त्री आफैंले राखेको युवा तथा खेलकुद मन्त्रालयमा लोसपाका संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेसँगै अब लुम्बिनीको मन्त्रिमण्डल १२ सदस्यीय भएको छ।
आज मन्त्री बनेका पाण्डे प्रदेश सरकारमा चौथो पटक मन्त्री बनेका हुन्। रूपन्देहीको भैरहवा निवासी उनी यहाँ बनेका ५ सरकारमध्ये चारवटामा सहभागी भइसकेका छन्।

















