१३ साउन, सर्लाही । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखुमा दिँदै आएको अनुदान कटौती गरेपछि उखु किसान आन्दोलित भएका छन् । सरकारको यो निर्णयप्रति आपत्ति जनाउँदै किसानहरूले साउन १५ पछि सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले २०६६ सालदेखि निरन्तर दिँदै आएको अनुदान कटौती गर्नु किसानको मेहनतमाथि कुठाराघात भएको आरोप लगाए । “१६ वर्षदेखि पाउँदै आएको अनुदान रकम एकाएक कटौती गर्दा किसानलाई निराश बनाइएको छ,” अध्यक्ष उप्रेतीले भने, “हामीले लामो संघर्षपछि प्राप्त गरेको यो अनुदानलाई निरन्तरता दिन फेरि संघर्ष गर्नुपर्ने बाध्यता आइलागेको छ ।”
सरकारले गत वर्ष प्रतिक्विन्टल ७० रुपियाँ दिइरहेको अनुदानलाई आधा घटाएर ३५ रुपियाँ बनाउने तयारी गरेकोप्रति अध्यक्ष उप्रेतीले गम्भीर असन्तोष जनाएका छन ्। “सरकारको यस्तो नीति उखु खेतीप्रति उत्साह घटाउने र कृषिमा निर्भर किसानलाई अरू संकटमा धकेल्ने काम हो,” उनले भने ।
उखु उत्पादक किसानहरूका अनुसार, मूल्य निर्धारण समयमै नहुँदा पहिल्यै समस्या झेल्दै आएका उनीहरू अब अनुदानसमेत कटौती भएपछि खेती परित्याग गर्न बाध्य हुने अवस्थामा पुगेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–७, घुर्कौलीका किसान देवराज चौलागाईंले भने, “पहिलेदेखि नै मल, सिंचाइ, कामदारलगायत लागत बढ्दो छ । त्यसमाथि अनुदान कटौती हुँदा हामीजस्ता किसानलाई उखु खेती छाड्नै पर्ने परिस्थिति आएको छ ।”
अध्यक्ष उप्रेतीले चिनी उत्पादनबाट मात्र राज्यले भ्याटमार्फत झन्डै २ अर्ब रुपियाँ राजस्व संकलन गर्ने गरेको उल्लेख गर्दै त्यसअनुसार डेढ अर्ब रुपियाँ अनुदान दिन सरकारलाई कठिन नपर्ने तर्क गरे । राजस्वकै ठूलो हिस्सा चिनी उद्योग र उखु खेतीसँग जोडिएको हुँदा किसानलाई दिएको अनुदान कटौती गर्नु अन्यायपूर्ण भएको उप्रेतिको तर्क छ ।
यता, सरकार भने अझै पनि गत वर्षको बाँकी अनुदानसमेत दिन नसकेको अवस्थामा छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख पुष्पप्रसाद गुरागाईंका अनुसार, जिल्लाका तीनवटा चिनी मिलमार्फत गत वर्ष ५३ लाख ४२ हजार ७९१.१३ क्विन्टल उखु बिक्री भएको थियो, जसको आधारमा ३७ करोड ३९ लाख ९५ हजार ३७९ रुपैयाँ १० पैसा बराबरको अनुदान रकम निकासा माग गरिएको छ ।
किसानहरूले सरकारलाई शीघ्र निर्णय परिवर्तन गरी पुरानै दरमा अनुदान कायम राख्न आग्रह गरेका छन्, अन्यथा साउन १५ देखि चरणबद्ध र सशक्त आन्दोलन थाल्ने तयारीमा रहेका छन् ।

















